NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

प्रतिष्ठाको दौडमा हरायो बालापन 

NCELL

Photo Credit : AI

News Summary

Generated by OK AI. Editorially reviewed.

  • २०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि अभिभावकहरूले सामाजिक सञ्जालमा आफ्ना सन्तानलाई उच्च अंक ल्याएकोमा खुशी व्यक्त गरे।
  • लेखले वर्तमान शिक्षा प्रणालीमा प्रतिस्पर्धात्मक दबाब, मानसिक स्वास्थ्य समस्या र बालअधिकार उल्लङ्घनका विषयमा चिन्ता व्यक्त गरेको छ।
  • नेपाल सरकारले शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न जीवन सीप, कला, खेलकुद र सामाजिक मूल्यहरू समावेश गर्नुपर्ने सुझाव दिइएको छ।

२०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि विगतका वर्षमा झैं यस वर्ष पनि सामाजिक सञ्जालहरू उत्सवको मञ्च बन्न पुगे। आफ्ना सन्तानले उच्च अंक ल्याएको खुशीमा हरेकजसो अभिभावकले सामाजिक सञ्जाल रङ्ग्याएका थिए। बधाईको ओइरो र खुशी साटासाटको नयाँ माहोलका दृश्य हेर्दा लाग्छ- शिक्षा जीवनमार्ग होइन, प्रतिस्पर्धा जित्ने खेलमैदान बन्न पुगेको छ। ती अबोध बालबालिकाको स्कूल भर्नाकालदेखि एसईई नसकुन्जेलसम्म अधिकांश बालबालिका मानसिक, शारीरिक र भावनात्मक रूपले सास्ती खेप्दैछन्। तर, बालअधिकार मिचिएका ती सन्तानहरूबाट समाजमा नाम, प्रतिष्ठा र पुरस्कार कमाउने होडबाजीमा अभिभावक लाग्नु न्यायसंगत हो त ? लेख यसैमा केन्द्रित रहनेछ।

बालापनको हरण

बाल्यकाल मानिस जीवनको आधारशिला हो। जसले व्यक्ति निर्माणमा गहिरो प्रभाव पार्छ। यो अवस्थामा बच्चाहरुमा शारीरिक वृद्धि विकाससँगै संसार बुझ्ने तीव्र इच्छा पलाएको हुन्छ। किन र कसरी जस्ता प्रश्न बारम्बार दोहोऱ्याउने गर्छन्। यो अवस्थामा उनीहरू अरूको आचरणको अनुकरण गर्ने भएकोले उनीहरूलाई अभिभावक परिवार र आफन्तको संरक्षण र वात्सल्यता अत्यन्तै आवश्यक पर्छ। तर, हिजोआज अवस्था फेरिएको छ।

हिजोआज बाल्यकाल एक किसिमले अपहरणमा परेको प्रतीत हुन्छ। बच्चा जन्मेको तीन वर्षभित्रै स्कूल भर्ना, किताबको बोझ, होमवर्क, टेस्ट, ट्यूसन, अंक र प्रमाणपत्रको प्रतिस्पर्धात्मक चक्रव्यूहमा फस्न थाल्छन्। बालबालिकाको स्वाभाविक प्राकृतिक विकासलाई छाडेर हामी उनीहरूलाई एउटा यान्त्रिक साँचोमा हाल्ने प्रयासमा लागिरहेका हुन्छौं। जो असफल भएमा अभिभावकको सपना चकनाचूर हुन्छ भन्ने त्रासमा रहन्छन्। उनीहरू चाहन्छन् कम समयमा बढी प्रतिफल प्राप्त गर्न सकियोस् भन्ने मानसिकताबाट गुज्रिरहेका हुन्छन्।

शिक्षामा प्रदर्शनको प्रवृत्ति

शिक्षाको मूल उद्देश्य थियो व्यक्तिको सर्वाङ्गीण विकास, विवेक विस्तार, समाजप्रतिको दायित्व र जीवनोपयोगी ज्ञान। अफशोच ! ती उद्देश्यहरू अब ओझेलमा पर्दै गएका छन्। शिक्षालाई हामीले कति नम्बर ल्यायौं ? भन्ने प्रश्नमा खुम्च्याएका छौं। आफ्ना सन्तानले फोर जीपीए ल्याए त्यसलाई उत्कृष्ट अभिभावकत्वको तक्मा भिराइदिन्छौं। यस्तो सोच र चिन्तनले बालबालिकालाई ‘मूल्यमा’ होइन उपलब्धिमा मात्र तौलन सिकाएको हुन्छ।

अभिभावकको घोडादौड

बालबालिकाको पढाइमा ध्यान दिनु राम्रो हो, तर अहिलेको स्थितिमा हामी आफ्ना सन्तानलाई आफ्ना अधुरा सपना पूरा गर्ने र समाजबाट प्रतिष्ठा आर्जन गर्ने माध्यम बनाइरहेका हुन्छौं। मेरा छोराछोरी डाक्टर-इन्जिनियर नबने त के काम ? भन्ने चिन्तनले बालबालिकाको स्वतन्त्रता, रुचि र आत्मसम्मानलाई कुल्चिरहेका हुन्छौं। धेरै स्कूले केटाकेटीहरू आफ्नो रुचि र खुशी बिर्सेर अभिभावकको आकांक्षा पूरा गर्ने दौडमा हुन्छन्। यो ठीक त्यस्तै हो, जसरी घोडादौडमा इनाम जित्न घोडसवारले चाबुक हानेर कुदाउँछ। स्मरणरहोस्! घोडाले आफ्ना मालिकलाई खुशी पार्न दौडिएको होइन, ऊ त केवल चाबुकको पीडाले कुदेको हो।

अचेल हाम्रा बालबालिकाको अवस्था पनि यस्तै भयावह बन्न थालेको छ। यहाँ कसैका सन्तानलाई घोडा या अभिभावकलाई मालिक बनाएर दृष्टान्त देखाउन खोजिएको त होइन। तर, हाम्रो शिक्षा नीति र प्रणालीमा रहेको कमजोरीका कारण उत्पन्न परिणामतर्फ ‌इङ्गित गर्न खोजिएको हो। यसले शिक्षाको नाममा भइरहेको व्यवसायीकरण र समाजमा हुर्कंदो गलत प्रवृत्तिलाई पनि इङ्गित गर्न खोजिएको मात्र हो। हामीले खोजेको शिक्षा केवल किताबी नबनोस्, बरु आनीबानी, बौद्धिकता र व्यवहारमा देखिने शिक्षा होस् भन्न खोजिएको हो।

शिक्षा प्रणालीको त्रुटि

प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई प्रतिस्पर्धाको आधारमा नभई आफ्नै माटो र हावापानी सुहाउँदो शिक्षामा जोड दिनुपर्छ, जसले आफ्ना प्वाँख फैलाएर उडान भर्न सक्षम बनाओस्

हाम्रो पाठयक्रम सिर्जनात्मक छैन, बरु परीक्षाकेद्रित छ। जसका कारण बालबालिका रट्न बाध्य छन्। बालबालिकाको उमेर अनुसारको उत्सुकता, खेल, सृजनात्मक र जिज्ञासालाई सम्बोधन गर्न सकेको छैन। बालशिक्षा रटाइभन्दा रमाइलो र सृजनात्मक क्रियाकलाप उन्मुख सिकाइ हुनुपर्छ। बालबालिकालाई बालमैत्री सिकाइ वातावरण सृजना गर्न अत्यन्तै जरूरी हुन्छ। तर, समावेशी जीवनोपयोगी व्यावसायिक वा सृजनशील शिक्षाको कुरा भाषणमै सीमित छ। बालमैत्री सिकाइ वातावरण तयार पार्ने भनिए पनि व्यवहारमा उत्तीर्ण/अनुत्तीर्णको धारिलो विभाजन अझै कायमै छ।

शिक्षक, विद्यालय, परीक्षा बोर्ड र शिक्षा मन्त्रालय सबै अंकका आधारमा सफलता नाप्न अभ्यस्त छन्। यस्तो प्रणालीले समावेशिता, विविधता र सृजनशीलता हराउँदै गएको छ। यसैगरी, निजी विद्यालय र सार्वजनिक विद्यालय बीचको गहिरो खाडलले शैक्षिक क्षेत्रमा विभेद बढाउँदै लगेको छ। निजी विद्यालयमा पढ्ने सन्तानले राम्रो अंग्रेजी, सुविधा र अवसर पाइरहेका छन् भने ग्रामीण भेगका कतिपय सरकारी स्कूलहरूमा खस्कँदो एसईई नतिजाले विद्यार्थीमा नैराश्यतालाई बढाएको छ।

अझै पनि ग्रामीण क्षेत्रका सरकारी स्कूलका बालबालिका आधारभूत पठनपाठन क्षमता नपाई ग्रेडमा मूल्यांकन भइरहेका छन्। यस्तो विषमताले दीर्घकालीन रूपमा सामाजिक असमानतालाई जन्माउने पक्का छ। यसरी पूँजी र लगानीमा आधारित शिक्षा नीतिले यो देशमा पास र फेल, धनी र गरिब, नागरिक र रैती उत्पादन गर्ने विभेदलाई बढाएको छ भन्दा शायद अतिशयोक्ति नहोला।

संस्कारविहीन सिकाइ

शिक्षामा कति जानियो ? भन्दा पनि शिक्षाले चरित्र निर्माण गर्न कति सघायो भन्ने हेरिनुपर्छ। शिक्षाले संस्कार निर्माण गरोस्, त्यसले जीवन सहज बनाओस् र देश निर्माणमा नागरिकलाई अग्रसर पारोस्। अफसोच ! शिक्षा संस्कारविहीन र जीवनविमुख बन्दै गएको छ। बालबालिकाले अंकको परीक्षा पास त गर्छन् तर जीवनको परीक्षा पास गर्न सक्दैनन्। उनीहरूसँग अंक हुन्छ, तर आत्मविश्वास हुँदैन। डिग्री हुन्छ, तर जीवन चल्दैन। हामीले शैक्षिक प्रमाणपत्रको मूल्य त राख्यौं तर मानवता, नैतिकता, करूणा, सहिष्णुता, चरित्रनिर्माण, श्रमको सम्मान, प्रकृतिप्रतिको प्रेम, ज्येष्ठ नागरिकप्रतिको सम्मान, संस्कृति, परम्परा जस्ता मूल्यहरू उपेक्षित बनाएका हुन्छौं।

बालश्रम र पढाइ

अझै पनि हाम्रा थुप्रै बालबालिका श्रममा संलग्न छन्। एकातिर बालबालिका अनावश्यक प्रतिस्पर्धाको चपेटामा छन्, भने अर्कोतिर कोही पढ्न नपाएर ग्यारेज, होटल, रेस्टुरेन्ट तथा घरेलु कामदारको रूपमा तथा गाउँघरमा आर्थिक अवस्थाको कारण गाईवस्तु, भेडाबाख्रा चराएर पेट पाल्न विवश रहेका बालबालिका अझै पनि शिक्षाको उज्यालो घामबाट वञ्चित रहनुपरेको यथार्थलाई बिर्सन सकिन्न। त्यसैले शिक्षामा समावेशी पहुँच नहुँदासम्म शैक्षिक समानताको सुगारटाइको तुक देखिंदैन।

मानसिक स्वास्थ्य र दबाब

सन्तानले विद्यालयमा प्रथम ल्याउँदा हामी किन खुशी हुन्छौं ? के विद्यार्थी स्वयं खुशी छ ? ऊ आफैं थकित त छैन ?

शैक्षिक दबाबका कारण अहिले बालबालिकामा डिप्रेशन, आत्मग्लानि, त्रास, तनाव र आत्महत्यासम्मका घटना देख्न थालिएका छन। धेरै केटाकेटी पढाइको नाममा निद्रा गुमाउँछन्, साथी बनाउँदैनन् र मेशिन झैं व्यवहार देखाउन थाल्छन्। यस्तो अवस्थामा जीवन बनाउने होइन, जीवन अलमलाउने आजको शिक्षा विश्वमा नबिक्ने खोस्टे साबित भएको छ। जबकि, शिक्षाले व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध र सशक्त बनाउन सक्नुपर्थ्यो।

विकल्पको खोजी

फिनल्यान्ड जस्तो देशहरूले बालमैत्री, खेलमुखी, परीक्षणविहीन, प्रारम्भिक शिक्षा अपनाएका छन्। त्यहाँका विद्यार्थीहरू ७ वर्षपछि मात्र विद्यालय जान्छन्, होमवर्क छैन, प्रतिस्पर्धामा होइन, सहकार्यमा आधारित शिक्षा हुन्छ। त्यसको परिणामस्वरूप उनीहरू सन्तुलित, आत्मविश्वासी र सृजनशील व्यक्तित्व विकास गर्न सफल भएका छन्। हामी नेपालीले पनि शिक्षानीतिमा संरचनागत सुधार गरेर सृजनशील एवं स्वावलम्बी बन्न सक्नुपर्छ।

प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई प्रतिस्पर्धाको आधारमा नभई आफ्नै माटो र हावापानी सुहाउँदो शिक्षामा जोड दिनुपर्छ, जसले आफ्ना प्वाँख फैलाएर उडान भर्न सक्षम बनाओस्। उनीहरूको रुचि, क्षमता र स्वाभाविक विकासलाई सम्मान गर्दै विद्यालयले पनि सिकाइ ज्ञान सामूहिकता, सहकार्य र संस्कारयुक्त पाठ्यक्रममा जोड दिन सक्नुपर्छ। नेपाल सरकारले पनि शिक्षा प्रणालीको पुनरावलोकन गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न शिक्षामा मानसिक स्वास्थ्य, जीवन सीप, कला, खेलकुद र सामाजिक मूल्यहरूलाई अनिवार्य रूपमा समावेशी गरिनुपर्छ। तब मात्र समाजले परीक्षा पासभन्दा बढी ‘मान्छे बनेको छ कि छैन’ भन्ने प्रश्न उठाउन सक्नुपर्छ।

अब के गर्ने ?

शिक्षा जीवन बाँच्न सिकाउने माध्यम हो, दौड जित्ने कुनै खेल होइन। हामीले आफ्ना सन्तानलाई घोडा दौडमा उभ्याएर पुरस्कार जित्ने या समाजमा प्रतिष्ठा बढाउन बाध्य पार्नुहुँदैन। हामीले सोच्नुपर्छ- सन्तानले विद्यालयमा प्रथम ल्याउँदा हामी किन खुशी हुन्छौं ? के विद्यार्थी स्वयं खुशी छ ? ऊ आफैं थकित त छैन ? यस्ता तमाम प्रश्नहरूप्रति हामीले पुनः घोत्लिन जरूरी छ। यदि साँच्चै हामी आफ्ना सन्तानलाई संस्कारयुक्त असल मान्छे बनाउन चाहन्छौं भने हामीले उनीहरूमा स्वतन्त्र, संवेदनशील र विवेकशील मान्छे बन्ने बाटो खोल्नुपर्छ। शिक्षाको यो घोडादौड अब रोकिनुपर्छ। चाबुक होइन, करूणा चलाऔं। दबाब होइन, प्रेरणा दिऔं। प्रमाणपत्र होइन, जीवन र संस्कार बाँडौं। अझ सारमा भन्नुपर्दा शिक्षा यस्तो होस् जसले बाल अधिकारको ख्याल राखोस्, मुटुमा संस्कार रोपोस् र हातमा कला-सीप जन्माओस्। तब मात्र शिक्षाले अन्धकार मेटाउने उद्गार प्रमाणित हुन सक्छ।

By नेपाल न्युज

सम्बिन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.